पाथीभरा मन्दिरको सुन–चाँदी तीनपटक लिलामीमा राखिँदा पनि बिक्री हुन सकेन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

ताप्लेजुङ  — प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन र चाँदी तीनपटक लिलामीमा राखिए पनि बिक्री हुन सकेन। पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको जानकारीअनुसार हालसम्म एक सय ७८ तोला ८२ लाल सुन र पाँच हजार दुई सय ९८ तोला १२ लाल चाँदी लिलामीबाट बिक्री हुन नसकेको हो।

समितिले पहिलोपटक गत वर्ष फागुन २० गते गोरखापत्र दैनिकमा २१ दिने सूचना प्रकाशित गर्दै लिलामी प्रक्रिया अघि बढाएको थियो। तर, कुनै पनि व्यवसायीबाट आवेदन नपरेपछि पुनः दुईपटक सूचना प्रकाशित गरिएको थियो।

https://kanyampost.com

सूचना अधिकारी नवीन निरौलाका अनुसार तीर्थयात्रीहरूले मन्दिरमा चढाउने सुन, चाँदी, त्रिशूल, घण्टी लगायतका सामग्रीको व्यवस्थापन समिति स्वयंले गर्दै आएको छ। ती सामग्रीबाट संकलित धातुलाई बिक्री गरेर पाथीभरा क्षेत्रको पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्य रहेको उनले बताए।

हालको बजार मूल्यअनुसार समितिसँग करिब चार करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सुनचाँदी मौज्दात रहेको छ। यद्यपि सोही सम्पूर्ण परिमाणका लागि एकैपटक आवेदन दिनुपर्ने प्रावधान व्यवसायीहरूका लागि चुनौतीपूर्ण भएको पाथीभरा सुनचाँदी कला व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष गङ्गाराम शंकरले बताए।

व्यवसायीहरूले आफूहरूको क्षमता अनुसार खण्ड–खण्डमा खरिद गर्न पाउने व्यवस्था मिलाउन पटक–पटक अनुरोध गरे पनि त्यो सम्भव नभएको उनीहरू बताउँछन्। हाल बजारमा माग धान्न व्यवसायीहरूले जिल्ला बाहिरबाट नै सुनचाँदी आयात गरी उपभोक्तालाई सेवा दिइरहेका छन्।

यसबीच, समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार अब थप प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ। जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा बनेको समिति मार्फत सल्लाह र सुझाव लिएर नयाँ उपाय खोजिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *