परिचित व्यक्तिबाटै असुरक्षित महिला र बालबालिका

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल प्रहरीका अनुसार महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका घटनामा ९१ प्रतिशतभन्दा बढी पीडक चिनजानका व्यक्ति हुने गरेका छन्। प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्म दुई हजार ४७ वटा यौन हिंसासम्बन्धी मुद्दा दर्ता भएका छन्।

प्रहरीको अनुसन्धानले नातासम्बन्धको आधारमा अभियुक्तहरूको विश्लेषण गर्दा पीडकहरू बढी चिनजानका रहेको देखाएको छ। प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यका अनुसार यी मुद्दामा दुई हजार २६३ जना अभियुक्त रहेका छन्। तीमध्ये घर मालिक, केटा साथी, सामान्य चिनजानका एक हजार २०६ जना, छिमेकी ५७३ जना, पारिवारिक नाताका २६५ जना, अपरिचित २०० जना र शिक्षक १९ जना रहेका छन्।

पारिवारिक नाताका अभियुक्तहरूमा पीडितका बुवा, श्रीमान्, काका, मामा, ठूलोबुवा, दाजुभाइ, मामाका छोरा, हजुरबुबा, भिनाजु, भतिज, छोरा, देवर, जेठाजु, ससुरा जस्ता व्यक्तिहरू रहेका छन्।

नेपाल प्रहरीले यस्ता अपराध न्यूनीकरणका लागि तत्काल उजुरी दिन सबैलाई आग्रह गरेको छ। प्रहरी नायब महानिरीक्षक आचार्यले बालबालिकालाई सानैदेखि यौन हिंसासम्बन्धी शिक्षा दिई सचेत गराउनु आवश्यक रहेको बताए।

‘बालबालिकालाई सकेसम्म परिवारको निगरानीमा राख्नुपर्छ। उनीहरूलाई ‘ब्याड टच’ र ‘गुड टच’ (राम्रो र नराम्रो छुवाइ) का बारेमा बुझाउनु आवश्यक छ,’ उनले भने, ‘अपराध गर्ने व्यक्तिलाई निरुत्साहित गर्न र कानुनी दायरामा ल्याउन सबैको सहयोग आवश्यक छ।’

नेपाल प्रहरीले यौनजन्य हिंसा रोकथामका लागि परिवार, विद्यालय र समाज सबै क्षेत्रबाट सचेतना आवश्यक रहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *