इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाले आजदेखि सात दिने मल्टीमिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पत्रकारिता तालिम सुरु गरेको छ। इलाम नगरपालिकाको सहयोगमा आयोजित उक्त तालिममा जिल्लाभरबाट ३० भन्दा बढी पत्रकारहरू सहभागी भएका छन्।
तालिमको उद्घाटन गर्दै इलाम नगरपालिका प्रमुख केदार थापाले “प्रविधिले पत्रकारहरूलाई अल्छी नबनाओस्, तर प्रविधिसँग खेल्न सक्ने बनाओस्” भन्ने अपेक्षा राखे। उनले यस प्रशिक्षणले जिल्लाका पत्रकारहरूलाई आधुनिक प्रविधिसँग पोक्त बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व नेतृत्वकर्ताहरू, नगरपालिका प्रशासन तथा स्थानीय प्रतिनिधिहरूले शुभकामना दिए। महासंघ इलाम शाखा अध्यक्ष भीम चापागाईंको अध्यक्षतामा सञ्चालित तालिममा प्रशिक्षक भीष्ण राई र जीवन भण्डारीले सहजीकरण गर्नेछन्।
यो तालिम आगामी सात दिनसम्म चल्ने छ भने प्रतिभागीहरूलाई डिजिटल पत्रकारिता, मल्टीमिडिया प्रयोग र एआईको सकारात्मक उपयोगजस्ता विषयमा जानकारी दिइने छ।