दर्शकको मागपछि ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर’ युट्युबमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बिहीबारदेखि प्रदर्शनमा आएपछि व्यापक चर्चा र प्रशंसा पाइरहेको नेपाली चलचित्र ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर’ युट्युबमा सार्वजनिक गरिएको छ। यस गीतका मार्मिक शब्दहरूले चलचित्रकी प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षको केही झलक प्रस्तुत गरेका छन्।

गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ भने थानेश्वरकै सङ्गीत र प्रभा बर्तौलाको शब्द रचना समावेश छ। चलचित्रमा समेत यस गीतको संक्षिप्त अंश सुन्न सकिन्छ। निर्देशक मिलन चाम्सका अनुसार, दर्शकहरूबाट पूर्ण गीत सुन्न व्यापक माग आएपछि यसलाई सार्वजनिक गरिएको हो।

फागु पूर्णिमाको अवसर पारेर बिहीबार रिलिज भएको ‘अञ्जिला’ले दर्शकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। पहिलो शोदेखि नै उल्लेख्य दर्शक उपस्थिति रहेको यस चलचित्रले धेरैलाई भावुक बनाएको छ।

चलचित्र ‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित छ। यसमा उनले आफैं प्रमुख भूमिकामा अभिनय गरेकी छन्। चलचित्रमा उनको बाल्यकालदेखि फुटबल खेलाडीको रूपमा स्थापित हुन गरेको संघर्ष र सफलताको प्रेरणादायी कथा प्रस्तुत गरिएको छ।

सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारहरूको उत्कृष्ट अभिनयले चलचित्रलाई थप प्रभावशाली बनाएको छ।

हाल ‘अञ्जिला’को भावुक दृश्यहरूले दर्शकहरूलाई प्रभावित पारिरहेको छ। सामाजिक सञ्जालमा चलचित्रको प्रशंसा तथा दर्शकहरू भावविह्वल भएका भिडियो क्लिपहरू भाइरल भइरहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *