आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र अबको एक महिनाभित्र पुनः सञ्चालनमा आउने भएको छ।
आजको गोरखापत्र दैनिकमा समाचार छ, प्रशोधन केन्द्रका महाप्रबन्धक सगीता यादवले उद्योगलाई पुनः सञ्चालनको तयारी भइरहेको बताउँदै एक महिनाभित्र उत्पादन शुरु हुने जानकारी दिइन्। पहिलेकै परिणाममा गर्न नसकिए पनि उत्पादन शुरु गर्ने बताइन्।
‘राजावादी भनिएका’ प्रदर्शनकारीले चैत १५ गते आगजनी गर्दा सो केन्द्र क्षतिग्रस्त भएको थियो। अपराह्न ४ बजे गरिएको आगजनीपछि केन्द्रको उत्पादन पूर्णमा रूपमा बन्द छ ।उत्पादन बन्द रहे पनि दैनिक प्रशासन शुरु भइसकेको छ।
‘सवारीसाधन र भवन मात्र नभई उत्पादनसँग सम्बन्धित धेरै उपकरणसमेत आगोले खरानी भए। कतिपय नयाँ उपकरण खरिद गरी जडान गर्नुपर्ने हुन्छ। त्यही भएर केही समय लाग्न सक्छ’, उनले भनिन्, ‘तत्कालीन र दीर्घकालीन योजना बनाएर यस केन्द्रलाई पहिलेकै अवस्थामा फर्काउनु छ। यसका लागि सरकारको सहयोग आवश्यक छ।’ यो प्रशोधन केन्द्र वन तथा वातावरण मन्त्रालयमातहत सञ्चालन हुँदै आएको छ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले प्रशोधन केन्द्र छिटोभन्दा छिटो सञ्चालनका लागि मन्त्रालयले गृहकार्य गरिरहेको दाबी गरे। ‘मन्त्रालयले प्राविधिक र विज्ञसँग छलफल गरिरहेको छ । अस्थायी रूपमा सञ्चालन गर्न करिब १० करोड रुपियाँ आवश्यक देखिएको छ’, उनले भने, ‘यसबारे मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भइसकेको छ। चाँडै रकम उपलब्ध हुन्छ।’ प्रशोधन केन्द्र सञ्चालनबारे मन्त्रीपरिषद्ले चाँडै नै निर्णय गर्ने विश्वास उनले व्यक्त गरे।