कुलप्रसाद पराजुली देउमाई नगर समिति अध्यक्षमा निर्वाचित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) देउमाई नगर समितिको अध्यक्ष पदमा कुलप्रसाद पराजुली चयन भएका छन्। इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारेमा सम्पन्न दोस्रो नगर अधिवेशनमार्फत पराजुली अध्यक्षमा निर्वाचित भएका हुन्

अधिवेशनबाट पराजुलीको नेतृत्वमा २५ सदस्यीय नगर समिति चयन भएको निर्वाचन समिति संयोजक अधिक्ता राम योङहाङले जानकारी दिए। नवगठित नगर समितिमा शारदा राई र भोजराज मगर उपाध्यक्षका रूपमा चयन भएका छन् भने सचिव पद प्रेमकुमार राईले सम्हाल्ने भएका छन्। यस्तै, सहसचिवको जिम्मेवारी घनश्याम आचार्यलाई दिइएको छ भने निरा गुरुङ कोषाध्यक्ष पदमा निर्वाचित भएकी छन्।

नवनिर्वाचित नगर समिति पदाधिकारी तथा सदस्यहरूले निर्वाचन समिति संयोजक राम योङहाङबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए।

समितिको नेतृत्व सम्हालेका अध्यक्ष पराजुलीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई सशक्त प्रतिस्पर्धी बनाउन लागि पर्ने प्रतिबद्धता जनाए। यसै अवसरमा अध्यक्ष मण्डलका प्रमुख हर्क लावती कान्छाले नवनिर्वाचित टोलीलाई बधाई दिँदै माओवादी केन्द्रलाई सशक्त जनताको पार्टी बनाउन नीति, कार्यक्रम र सिद्धान्तप्रति दृढ रहन सुझाव दिए।

अधिवेशनको उद्घाटन पूर्वसंविधानसभा सदस्य धर्मशिला चापागाईंले गरेकी थिइन्। कार्यक्रमको अध्यक्षता तत्कालीन नगर समिति उपाध्यक्ष ताराबाबु सुवेदी ‘हुरी’ले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *