विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजङ्घाको पहिलो सफल आरोहणको ७० औँ वार्षिकोत्सवका अवसरमा आजदेखि ताप्लेजुङमा ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ आयोजना हुँदैछ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुने महोत्सव यही वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायतका गतिविधि सञ्चालन गरिने परिषद्का सचिव मनकुमार लिम्बूले जानकारी दिए।
महोत्सवमा ताप्लेजुङ जिल्लाका छ जना कञ्चनजङ्घा आरोहीहरू पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मिङ्माग्यावु शेर्पा र लाक्पा शेर्पा सहभागी हुनेछन्।
‘कञ्चनजङ्घा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्यापर्यटन समृद्धिको आधार’ भन्ने नारासहित आयोजना हुने यस महोत्सवले संरक्षण र दिगो पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्याण्डले कञ्चनजङ्घाको दक्षिणी मोहोडाबाट पहिलो पटक सफल आरोहण गरेका थिए।