काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा तयारीमा ढिलाइ हुने भएको छ। नेपाल शिक्षक महासंघले आम शैक्षिक हड्तालको घोषणा गरेपछि नतिजा प्रकाशन प्रक्रिया प्रभावित हुने पक्का भएको हो।
महासंघले चैत २५ गतेदेखि देशभरका विद्यालयहरु बन्द गर्दै राजधानी काठमाडौंमा सडक आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेको छ। यस अवधिमा एसईईका उत्तरपुस्तिकाहरू परीक्षण नहुने भएकाले परीक्षाफल प्रकाशन प्रक्रिया स्थगित हुनेछ।
२०७९ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईईमा नियमित तर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ परीक्षार्थी गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
शिक्षकहरूले शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन माग गर्दै चार दिनदेखि राजधानीमा आन्दोलन चर्काइरहेका छन्। आन्दोलन अझै चर्किने सङ्केतसँगै एसईई नतिजा समयमै नआउने पक्का देखिएको छ।