काठमाडौँ, वैशाख ३ गते । विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरूलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवर्धन गरिएको छ। परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त भ्रमणले इलामको प्राकृतिक, सांस्कृतिक सौन्दर्य र पर्यटन सम्भावनाको प्रवर्धनमा सहयोग पुर्याएको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणाको नेतृत्वमा सहभागी राजदूत र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले इलामको शान्त वातावरण, पहाडी जीवनशैली, र प्राकृतिक तथा सांस्कृतिक विविधता अनुभव गरेका छन्। बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार, यो भ्रमणले स्थानीय संस्कृतिलाई अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसाम प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।
अप्रिल १३ तारिखमा काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै इलामको यात्रा सुरु भएको थियो। भद्रपुरबाट स्थलमार्ग हुँदै कन्याम पुगेको प्रतिनिधिमण्डललाई कान्याम नगरपालिकाद्वारा भव्य स्वागत गरिएको थियो। पाहुनाले सांस्कृतिक नृत्य, लोकसङ्गीत, र आतिथ्य कार्यक्रमको मज्जा लिएका थिए र हर्स राइडिङको विशेष अनुभव पनि लिएका थिए।
अप्रिल १४ तारिखमा, श्रीअन्तुबाट सूर्योदयको अनुपम दृश्यावलोकन गराइएको थियो र अन्तु पोखरीमा माछा मार्ने तथा डुङ्गा सयर गर्ने गतिविधि सम्पन्न भएको थियो। चिया टिप्ने प्रतियोगिता र टि टेस्टिङ कार्यक्रमले इलामको चिया संस्कृतिको अनुभव प्रदान गर्यो। स्थानीय उत्पादन ‘चिज टेस्टिङ’ कार्यक्रम र साँझका विविध सांस्कृतिक कार्यक्रममा पनि पाहुनाहरू सहभागी भएका थिए।
अन्ततः, उक्त प्रतिनिधिमण्डल अप्रिल १५ तारिखमा इलामसँग बिदाइ गर्दै भद्रपुर विमानस्थल हुँदै काठमाडौँ फर्किएको थियो। भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवर्धन गर्न महत्वपूर्ण योगदान दिएको बोर्डले जनाएको छ।