इलाम नगरपालिका-४ निवासी ६७ वर्षीय देउप्रसाद चाम्लिङ राईको हत्या भएको पुष्टि भएको छ। करिब एक महिनाअघि फागुन ३ गते आफ्नै घरदेखि करिब ३० मिटर पश्चिम गोरेटो बाटोमा उनी मृत अवस्थामा फेला परेका थिए।
घटनापछि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राई नेतृत्वको टोलीले घटनास्थलको अनुसन्धान गर्दै शवलाई इलाम अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई बुझाएको थियो।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलामले विशेष अनुसन्धान टोली गठन गरेको थियो। उक्त टोलीले सूक्ष्म एवं विस्तृत अनुसन्धान गर्दा देउप्रसाद चाम्लिङ राईको हत्या गरिएको पुष्टि भएको इलाम प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरूको खोजीका क्रममा प्रहरीले चैत ३ गते आइतबार सन्दकपुर गाउँपालिका-१ छरछरेबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ३२ वर्षीय राम राई र २९ वर्षीय बिरेन (वीरेन्द्र) राई रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान भइरहेको छ।