‘आशिष स्मृति पत्रकारिता पुरस्कारबाट किरण पौडेल र क्रियाशिल महिला पत्रकारिता पुरस्कार सुनिता मगर पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ इलामको आइतबार बसेको बैठकले दुवै पुरस्कारको बारेमा निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ इलामले स्थापना गरेको दश हजार रुपैयाँ राशिको पुरस्कारबाट दुवै पत्रकारलाई पुरस्कृत गरिनेछ ।
२०७२ साल देखि पत्रकारिता थालेका पौडेल इलाम आवाज साप्ताहिक, इलाम पोस्ट दैनिकको संवाददाता हुँदै कार्यकारी सम्पादक, इलाम एफएम, राष्ट्रिय समाचार समिति इलाम संवाददाताका रुपमा जिल्लामा कार्यरत रहेका थिए । उनी हाल काठमाण्डौमा रहेको हिमाल प्रेसमा डेक्समा नै रहेर काम गरिरहेका छन ।
हाल सम्म सो पुरस्कारबाट इलामका पत्रकार बेनुपराज भट्टराई, राजु शिवा, भीम चापागाईं, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, नमीन ढकाल, गणेश घिमिरे, सुमन लावती, भगीरथ भण्डारी, टीका खतिवडा, विक्रम सुन्दास पुरस्कृत भइसकेका छन् । त्यस्तै पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भएका छन् ।
मगर इलामको रेडियो नेपालवाणी समाचार कक्षमा कार्यरत रहेकी छिन । यस अघि सविता पाण्डे र सुजता सुनुवार पुरस्कृत भइसकेका छन । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर प्रदान गरिने क्रियाशिल पत्रकार महिला पुरस्कार बैशाख १ गतेका दिन वितरण गरिनेछ । रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको स्मृतिका साविकको मेची अञ्चलका क्रियाशिल पत्रकारलाई आशिष स्मृति पुरस्कर वितरण गरिदै आएको छ ।
राईको २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । सन्दकपुर गाउँपालिकाकोे सुलुबुङ्गमा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरुले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।