थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वादेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सरकार शिक्षकहरुको माग सम्बोधन गर्न तयार रहेको बताएका छन्।
विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमाथि विश्वास गरेर नै शिक्षकहरु प्रदर्शनमा आएको बताए।
उनले भने–‘यो सरकारको विश्वास भएर नै उहाँहरु आउनुभएको छ। नत्र पहिले यस्तो प्रदर्शन गर्नुहुन्थ्यो नि। प्रदर्शन गरेपनि कानमा बतास लाग्दैन भन्ने हुन्थ्यो। अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वासले आउनुभएको छ। हामी कुरा गर्छौँ, उहाँको आवाज सुन्छौं। न उहाँहरु सरकार विरोधी हो, न सरकार उहाँहरुको।’
उनले सरकारले कुनै नकारात्मक दृष्टिकोण नराख्ने भन्दै धेरै दुःख नगर्न आग्रह गरे। शिक्षकहरु माग सम्बोधन गरेर फर्किने बताए।
प्रधानमन्त्री ओलीले यसअघिका सरकारले शिक्षकको कुरा नसुनेको र अहिले त्यस्तो नहुने बताए ।
अहिलेको सरकारले आफ्ना कुरा सुन्ने देखेपछि नै शिक्षकहरू प्रदर्शनमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
उनले भने–‘सरकारमाथि विश्वास गरेर उहाँहरू प्रदर्शनमा आउनुभएको छ । नत्र पहिले पहिले प्रदर्शन गर्नुहुन्न थियो यसरी । किनभने प्रदर्शन गर्यो गर्यो, कानमा बतास लाग्दैन भने किन भन्ने हुन्थ्यो । अहिले चाहिँ आवाज उठाएपछि त्यो सरकारले सुन्छ भन्ने विश्वास उहाँहरू आउनुभएको हो ।’
यता, आन्दोलनरत शिक्षहरु भने अहिले सडकमै सुतिरहेका छन् । काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका शिक्षकहरुले आज नयाँ बबरमहल–बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् ।
केही दिनदेखि बबरमहल–नयाँ बानेश्वर सडकमा नारा–जुलुससहित प्रदर्शन गरिएका शिक्षकहरूले आज आधा घण्टा सुतेर प्रदर्शन गरेका हुन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वको आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित भएका छन् ।
शिक्षकहरू शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । यसबेला संसदको अधिवेशन पनि अन्त्य भएकोले शिक्षकहरूले अध्यादेशबाट भए पनि ऐन बनाउन माग गरेका छन् ।
अध्यादेश सम्भव नभए छिट्टै बर्खे अधिवेशन बोलाएर ऐन बनाउनुपर्ने या त विशेष अधिवेशन बोलाएर पनि आफूहरूको माग पूरा गर्नुपर्ने अडान शिक्षकहरूको छ ।
आन्दोलनमा उत्रिएका शिक्षकहरुले सरकारले बोलाएको वार्ता पनि अस्वीकार गर्दै आएका छन् । सरकारले दुई पटक बोलाउँदा पनि वार्तामा बसेका छैनन् ।