इलाम — कतारमा १४ वर्ष एसी टेक्निसियनको रूपमा काम गरेर स्वदेश फर्किएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियाको मनमा सधैं गाउँमै बसेर केही गर्ने इच्छा थियो। तर विदेशको कमाइ जीवनका आधारभूत आवश्यकता पूरा गर्नमै सकिएको थियो। व्यवसाय गर्ने चाहना भए पनि लगानीको अभावले उनी अलमलमा थिए।
“गत साल सूर्योदय नगरपालिकाले रेमी कार्यक्रममार्फत कुखुरा पाल्न अनुदान दियो,” उनले सुनाए, “सात दिनको उद्यमशीलता तालिमसँगै ४० हजार रुपैयाँ पाएपछि स्थानीय जातका कुखुरा पाल्न थालेँ। अब त विदेश जाने सोच नै छैन।”
डेढ लाख रुपैयाँ लगानीमा व्यवस्थित खोर बनाएर ६ सय चल्ला पालेका डिल्लीराम अहिले राम्रो आम्दानी गरिरहेका छन्।
उनी मात्र होइन, सोही वडाका इन्द्रजित मुखिया, सपना सुवेदी, राजेन्द्र गिरी र विराज तामाङले पनि नगरपालिकाको अनुदान सहयोगमा कुखुरा पालन व्यवसाय अघि बढाएका छन्।
तीन वर्ष साउदी अरब बसेकी सपना सुवेदी भन्छिन्, “त्यहाँको दुःख सम्झँदा अझै पनि आङ सिरिङ्ग हुन्छ। अहिले बाख्रा, कुखुरा पालनसँगै चियाखेतीमा रमाइरहेकी छु।” नगरपालिकाबाट उनले एक लाख रुपैयाँको अनुदान पाएकी छन्।
“गाउँमै केही गर्न चाहने सबैसँग पैसा हुँदैन। रेमी कार्यक्रमले बिना ब्याज ऋण दिएको छ। अब त तीन वर्षमा साँवा मात्र तिर्ने हो,” सपना मुस्काउँदै भन्छिन्।
नगरप्रमुख रणबहादुर राईका अनुसार स्वरोजगार कार्यविधि बनाएर नगरले व्यक्तिलाई एक लाखसम्म र समूह वा सहकारीलाई पाँचदेखि दश लाखसम्मको बिना ब्याज ऋण दिने व्यवस्था गरेको छ।