इलामलाइ कर्मथलो बनाइ साहित्य संगीतमा अनवरत सेवा गरेका अग्रज सर्जक गणेश रसिकप्रति श्रद्धा अर्पण गर्न असार ३ गते सूर्योदय नगरपालिकामा उनी प्रति समर्पित विशेष सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ। भोजपुरमा जन्मिएका उनी फिक्कलमा बस्दै आएका थिए। जीवनको उत्तरार्द्ध समय बिताएका उनको यही कर्मथलोमा कार्यक्रम गर्न लागिएको हो।
रेडियो फिक्कलका अध्यक्ष समेत रहेका गायक, गीतकार संगीतकार एवं साहित्यकार रसिकको गत जेठ १८ गते ललितपुरमा निधन भएको थियो। क्यान्सर रोगसँग लडिरहेका उनको उपचारका क्रममा निधन भएको हो।
नेपाली साहित्य र कला क्षेत्रका साथै समाजसेवामा रसिकले गरेको योगदानको स्मरण गर्दै उनको पछिल्लो कर्मथलो फिक्कलमा कार्यक्रम आयोजना गरिने भएको हो।
सूर्योदय नगरपालिका १० फिक्कलस्थित ‘कान्दुक फुट्सल’ परिसरमा हुने श्रद्धाञ्जली सभामा उनका कालजयी गीतहरू प्रत्यक्ष वाद्यवादनका साथ कलाकारहरूले प्रस्तुत गर्ने भएका छन्। यसका लागि तयारी भइरहेको आयोजकले जनाएको छ।
अग्रज स्रष्टाप्रति सम्मान व्यक्त गर्न उक्त दिन सहभागिताका लागि आयोजक रेडियो फिक्कल र गणेश रसिक फाउण्डेशन इलामले अनुरोध गरेको छ भने कार्यक्रम बिहान ११ बजेदेखि आरम्भ हुने छ।