हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।
आज पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदलीका बीच मौसम सफा रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा अन्य पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा अन्य उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबतास चल्ने सम्भावना भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ। महाशाखाले यसबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरेको छ।